काठमाडौं । ‘भिजिट भिसाको दुरुपयोग गरी मच्याइएको लुट, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र मानव तस्करीबारे यो अलोकप्रीय सरकारले यस्तै अनुमान योग्य काम गर्ला, प्रेडिक्टेबल काम गर्ला भन्ने हामीलाई पूर्वाभास थियो,’ सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै डा. स्वर्णिम वाग्लेले भने ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि छानबिन समिति बनायो ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सरकारले छानबिन समिति बनाए पनि विपक्षी दलहरुले भने आपत्ति जनाएका छन् । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिएको भन्दै राजीनामा माग गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने निरन्तर संसदमा अवरोध गरिरहेको छ । अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रास्वपाको साथमा रहँदा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भने २ बुँदे सहमतिको नाममा सत्तापक्षसँग मिल्न पुगेपछि भने रास्वपा एक्लै आफ्नो अडानमा अडिग रहिआएको छ ।
जेठ १३ गतेबाट निरन्तर संसदमा अवरोध गरिरहेको रास्वपाका उपसभापति समेत रहेका सांसद डा. वाग्लेले सरकारले छानबिन समिति बनाए पनि आपत्ति जनाए ।
‘क्याबिनेट चल्दाचल्दै हाम्रा पार्टीका प्रवक्ताले एउटा ट्वीट गर्नुभएको थियो, शंकरदास किन ? तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्किने यो सुनपानी छर्किने समिति बनाए भैहाल्यो नि,’ उनले पूर्व मुख्यसचिव बैरागीको नेतृत्वमा बनेको समितिप्रति कटाक्ष गर्दै भने ।
डा. वाग्लेले भिजिट भिसा प्रकरणमा राजनीतिक नेतृत्व मुछिएको कारण सरकारले त्यसको ढाकछोप गरिरहेको आरोप लगाए । उनले त्यसअघि बोलेका गृहमन्त्रीले ‘ब्यूरोक्र्याटिक’ तबरले भिजिट भिसा प्रकरणको समाधान गर्न खोजेको आरोप लगाए ।
पूर्वमुख्यसचिव बैरागीमाथि विभिन्न आरोपहरु रहेको र वर्तमान सत्ता नेतृत्वले नै विभिन्न अवसरहरु दिएर राखेको आरोप स्वर्णिमको रहेको छ । डा. वाग्लेले समितिको अध्यक्ष बनाइएका बैरागी सक्षम निकायहरुको राडारमा रहेको आरोप लगाएका छन् । साथै टेलिकम माफियाहरुद्वारा रचिएको घोटलाहरुमा समेत उनको संलग्नता रहेको आशंका गरेका छन् ।
‘विगत १० वर्षदेखि उहाँ सत्ताको प्रीय पात्र हुनुहुन्छ । ७ वर्ष परराष्ट्रसचिव बन्नुभयो । ३ वर्ष मुख्यसचिव बन्नुभयो । र रहस्यमय ढंगले मुख्यसचिवबाट उहाँको बहिर्गमन हुन्छ । राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ । र एकदुई दिनमा सेवा निवृत्त हुन लागेका अर्का मुख्यसचिव आउनुहुन्छ र त्यो पिरियडमा १०औँ करोड अरबौँको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरु भएका छन्,’ बैरागीमाथि कटाक्ष गर्दै उनले भनेका छन्, ‘त्यसैले शंकरदास बैरागी अहिलेका निगाह प्राप्त नेताहरुको गुडबुक्समा रहनुपर्ने स्वार्थको द्वन्द्धबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो मत छ । त्यसैले उहाँ स्वयं सक्षम निकायहरुको राडारमा हुनुहुन्छ । सक्षम निकायहरुको राडारमा भएका व्यक्तिहरुले कसको छानबिन गर्ने ?’

उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संरक्षण देखिएको आरोप लगाएका छन् । परोक्ष रुपमा संलग्नता रहेको आफ्नो पार्टीको धारणा रहेको आरोप लगाउँदै आरोपी व्यक्तिले नै अनुसन्धान अधिकृत छान्नु उचित नहुने बताए ।
‘परोक्ष संलग्नता देखिसक्या छ, प्रत्यक्ष संरक्षण देखिसक्या छ, ’ उनले भने, ‘गृहमन्त्रीले मेरै प्रस्तावमा छानबिन समिति बन्यो भन्नुभयो । के आरोपीले नै अनुसन्धान अधिकृत छान्दै जाने हो अहिले ?’
आफूहरुलाई तीन हप्ता अघि नै सरकारले आफ्नै संरक्षणमा रहेको मान्छेलाई अनुसन्धानको जिम्मा दिन्छ भन्ने पूर्वानुमान रहेको र आफूहरु नयाँ रहे पनि बेबकुफ नरहेको दाबी गरे ।
उनले सरकारले आफ्नो गोजीका मान्छे ल्याएर छानबिन समिति बनाएको भन्दै पूर्व वा बहालवाला न्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउनुपर्ने माग राखे ।
जेठको पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेर त्यहाँस्थित अध्यागमन विभागका प्रमुख रहेका तीर्थ भट्टराईलाई पक्राउ गरेको थियो । यता गृहमन्त्री लेखकले भने कुनै कर्मचारीमाथि प्रश्न उठ्दा तालुकदार मन्त्रालयको प्रमुखमाथि प्रश्न उठाउन नपाउने भन्दै पन्छिरहेका छन् । तर डा. वाग्लेले भने गृहमन्त्रीको खास पात्र भट्टराई रहेकोले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संरक्षण रहेको आरोप लगाए ।
‘उहाँको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षणको गुन्जायसको सम्बोधन कसरी हुन्छ ? तीर्थ भट्टराई त उहाँ (गृहमन्त्री) को मर्निङवाक गर्ने पार्टनर हो अर्किड कोलनीमा अनि कसरी गर्नुहुन्छ ?,’ भट्टराई र गृहमन्त्री लेखकको सम्बन्धबारे खुलासा गर्दै उनले प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया