काठमाडौं । खाडी मुलुकका उडानहरू रद्द भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका सयौं यात्रु आज गन्तव्यतर्फ उड्न थालेका छन् । कतारको आकाश खुला भएसँगै सोमबार राति रद्द भएका उडानहरू पुनः सञ्चालनमा आएका हुन् ।
सोमबार राति ११ः३० बजे नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको दोहा गन्तव्यका उडानहरू रद्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका थिए । इरानले कतारमाथि आक्रमण गरेपछि खाडी क्षेत्रका उडानहरू प्रभावित भएका थिए ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार कतारबाट काठमाडौं फर्किनुपर्ने आज बिहानको उडान पनि रद्द भएको छ । तर, आकाश खुला भएसँगै नियमित उडानहरू सुरु हुने विश्वास गरिएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीका अनुसार सोमबार दोहा उडानका लागि २६९ यात्रु तय भइसकेका थिए । उनीहरूलाई आजै गन्तव्यतर्फ पठाउने तयारी पूरा भएको छ । कतारको परिस्थितिका कारण खाडी मुलुकतर्फका अन्य नियमित उडानहरूमा पनि केही ढिलाइ हुने अनुमान गरिएको छ ।
आक्रमणको सूचना आएपछि सोमबार राति विमानमा बोर्ड गराउने तयारीका क्रममा नै उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरू अलमलमा परेका थिए ।
हाल त्रिभुवन विमानस्थलबाट नेपालका तीनसहित ३० वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया