काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी र आईएयू नेसनल आउटरिचकोअर्डिनेटर नेपालको संयुक्त आयोजनामा आयोजित एक दिने ‘समावेशी ब्रह्माण्ड’ कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार काठमाडौंस्थित सिद्धार्थ फुडल्यान्ड, पुरानो बानेश्वरमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
फरक क्षमता भएकाहरु (दृष्टिविहीन) विद्यार्थीहरूलाई खगोल विज्ञानको क्षेत्रमा सहभागी गराई समावेशी शिक्षाको प्रवद्र्धन गर्ने महत्त्वपूर्ण उद्देश्य राखेको आयोजकले जनाएको छ ।
मध्यान्न १२ बजेबाट दिउँसो ४ बजेसम्म चलेको उक्त कार्यक्रममा कुल १७ विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो ।
दृष्टिविहीन विद्यार्थीहरूलाई खगोल विज्ञानको आधारभूत ज्ञान प्रदान गर्न विशेष रूपमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सौर्यमण्डल, ग्रहहरू, ताराहरू र तारामण्डलको अवधारणालाई बुझ्नका लागि विशेष स्पर्शयोग्य मोडेलहरू, ब्रेल लिपीमा लेखिएको सामग्री र अन्य शिक्षण उपकरणहरूको प्रयोग गरिएको थियो ।
सहभागी विद्यार्थीहरूले हातले छामेर ग्रहहरूको आकार, संरचना र सौर्यमण्डलको व्यवस्थालाई अनुभव गरेका थिए ।
प्रशिक्षकहरूले विद्यार्थीहरूसँग सहभागी भई उनीहरूलाई खगोलीय वस्तुहरूको बारेमा विस्तृत जानकारी प्रदान गरे ।
सौर्यमण्डलको मोडेलमा ग्रहहरूको आकार र दूरीको अनुपात देखाउन विशेष ध्यान दिइयो, जसले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइको अनुभव दिएको सहभागिहरुले जनाएका छन् ।

कार्यक्रममा दिपेश उपाध्याय, सञ्जय तामाङ, सन्देश चौहान, कोपिला तामाङ, निमा साङ तामाङ, जस्मिन नेपाल, दिप्सना धुङ्गाना, बिनिता बस्नेत, संजिता माझी, भक्ति थापा मगर, समयोग के।सी।, सनम पुटवार, बिकाश सिम्खडा, कुशल बेलबासे, बिनोद प्रसाद शर्मा, बिनय अधिकारी, सोफिक थापा लगायतका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
समापन समारोहमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष तथा नेपालका लागि आईएयू नेसनल आउटरिच कोअर्डिनेटर सुरेश भट्टराईले सहभागी सबै विद्यार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरे । नासोको परियोजना संयोजक मनीषा द्वाले उक्त अवसरमा बोल्दै यो पहलले दृष्टिविहीन विद्यार्थीहरूलाई विज्ञानको क्षेत्रमा प्रेरणा प्रदान गरेको र समावेशी शिक्षाको आधार तयार गरेको बताइन् । प्रमाणपत्र वितरणको क्रममा अभिभावक तथा शिक्षकहरूको उपस्थितिले पनि कार्यक्रमको महत्त्वलाई थप उजागर गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया