चितवन । मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम सकिएसँगै आजदेखि रातिको समयमा यस खण्डमा सडक बन्द नहुने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा गर्डर राख्ने काम आज बिहान सम्पन्न भएको हो । तीमध्ये दुई पुलको ढलान असार मसान्तभित्र सक्ने गरी काम अघि बढाइएको छ ।
गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक बन्द गरेर भारतबाट ल्याइएको ठूला क्रेनमार्फत बिम राखिएको थियो ।
यता, अहिले पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको गलौदी खोलामा गर्डर राख्नुपर्ने भएकाले आज र भोलि राति नौबिसे–मलेखु खण्ड भने बन्द हुने भएको छ ।
आयोजनाले राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म सवारी आवागमन रोकिने जानकारी दिएको छ ।
आयोजनाका अनुसार हालसम्म मुग्लिन–मलेखु सडकखण्डको ३२ प्रतिशत काम सम्पन्न भइसकेको छ । आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा तथा धादिङतर्फ मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा चार लेन सडक कालोपत्र गरिएको छ ।
सडकका अन्य दुईवटा पुलको फाउण्डेसनको काम धादिङतर्फ चरौँदी र हुग्दीमा भइरहेको आयोजनाका इञ्जिनीयर विजय दरैले जानकारी दिए ।
उनका अनुसार यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन, सात दशमलव दुई किलोमिटर चार लेन र दुई दशमलव तीन किलोमिटर उकालो–ओरालो खण्डमा तीन लेन क्लाइम्बिङ लेन निर्माण हुनेछ । बाँकी सडक दुई लेनको हुनेछ ।
२०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित रु ४ अर्ब ८० करोड ५९ लाखमा शर्मा–जेडआइसिजी कम्पनीले ठेक्का लिएको सडक विश्व बैंकको सहयोगमा निर्माणाधीन छ ।
हाल सडक क्षेत्रमा नाला निर्माण, पहिरो रोकथाम, भित्तो काट्ने, पर्खाल निर्माण र सडक सुरक्षाका अन्य कामहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया