पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल गरी पाँच प्रकारका पेट्रोलियम पदार्थको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात एक अर्ब ६ करोडले घटेको छ । यद्यपि, मूल्यका आधारमा आयात घटे पनि प्राप्त राजस्व भने ११.६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले वृद्धि भएको छ ।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात नै कार्यालयको प्रमुख राजस्व श्रोत बनेका छन् ।
यस अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा सो राजस्व ६५ अर्ब ५४ करोड थियो ।
डिजेल आयात घट्यो, राजस्व बढ्यो
चालु वर्षको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड रुपैयाँ बराबरको १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत वर्ष सोही अवधिमा ९३ अर्ब ६३ करोड रुपैयाँ बराबरको नौ लाख २१ हजार २७५ किलोलिटर डिजेल आयात भएको थियो ।
डिजेलबाट यस वर्ष ४१ अर्ब तीन करोड रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको ३६ अर्ब चार करोडभन्दा बढी हो ।
पेट्रोल आयात र राजस्व
चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल ३५ अर्ब ३४ करोड रुपैयाँमा आयात गरिएको छ । गत वर्षको सोही अवधिमा तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोल ३६ अर्ब चार करोड रुपैयाँमा आयात भएको थियो ।
पेट्रोल आयातबाट २३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको २० अर्ब ७३ करोडभन्दा बढी हो ।
एलपिजी ग्यासको आयातमा वृद्धि
११ महिनामा ३३ अर्ब ३५ करोड रुपैयाँ बराबरको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । गत वर्ष यो मात्रा २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम र मूल्य २७ अर्ब ७१ करोड रुपैयाँ थियो ।
ग्यास आयातबाट ६ अर्ब २४ करोड रुपैयाँ राजस्व उठाइएको छ ।
एटिएफ र मट्टितेल आयात स्थिति
एटिएफ (एभिएसन टर्बाइन फ्युल) चालु वर्षको ११ महिनामा १५ अर्ब तीन करोड रुपैयाँ बराबरको एक लाख ६७ हजार ३९८ किलोलिटर आयात भएको छ । यसबाट दुई अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
मट्टितेलको हकमा ५९ करोड रुपैयाँ बराबरको ६ हजार ७३० किलोलिटर आयात भएको छ र १६ करोड रुपैयाँ राजस्व उठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया