काठमाडौं । पछिल्लो दुई दिनदेखिको लगातारको भारी वर्षापछि विभिन्न क्षेत्रमा बाढी र पहिरोका कारण अवरुद्ध भएका १० सडकमध्ये ७ स्थानको सडक सञ्चालनमा आएको छ । बाँकी ३ स्थानमा भने अझै यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी खोलामा डाइभर्सन बगाउँदा सडक अझै सञ्चालनमा आउन सकेको छैन । यस क्षेत्रमा यात्रुबाहक गाडी समेत बगाएको थियो, तर यात्रुहरूलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७, जङ्डाँडामा पहिरोका कारण घोराही–रुकुम सहिद मार्ग अवरुद्ध भएको छ भने पाल्पाको तिनाउ नगरपालिका–३, सुरुङमार्गमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग बन्द छ । यी सडकहरू खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यता, ललितपुरको बागमती गाउँपालिकामा अवरुद्ध भएको कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आएको छ । त्यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टार (कालिगण्डकी कोरिडोर), म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीको कालिगण्डकी कोरिडोरमा पनि पहिरो पन्छाएर सडक खुलाइएको छ ।
त्यसैगरी, जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक र डोल्पाको भेरी कोरिडोर एकतर्फी सञ्चालनमा ल्याइएको छ । दुईतर्फी सञ्चालनका लागि प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबारदेखि मनसुन सक्रिय भएकाले देशभर नै मनसुनी प्रभाव जारी छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सतर्क रहन र आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया