काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभए पनि नेपालमा संघीयता सम्भव नरहेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधान निर्माणका क्रममा संघीयता नेपाली जनताको चाहना वा आवश्यकता अनुसार नभई जबर्जस्ती घोपिइएको दाबी गरे ।
अध्यक्ष केसीले भने, ‘नेपालमा संविधान निर्माण गर्दा खुशी–खुशी संघीयता स्वीकार गरेका होइनौं । म दुवै संविधान सभामा थिएँ, केके भएर संघीयता स्वीकार गरियो भन्ने मलाई थाहा छ । अहिले नेपाली जनतालाई प्रदेशको आवश्यकता छैन, बरु प्रदेशको भारीले राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने काम भइरहेको छ ।’
उनले संघीयता राष्ट्रको हितमा नरहेकाले पुनर्विचार गर्नुपर्ने तर्क राखे । ‘म संघीयता विरोधी होइन, तर नेपालमा यसको आवश्यकता छैन भन्ने कुरा राखेको हुँ । यो दुवै कुरा एउटै होइनन्,’ उनले प्रष्ट पारे ।
अध्यक्ष केसीले अहिले ठूलो संख्यामा जनताले समेत प्रदेश खारेजको आवाज उठाइरहेको भन्दै प्रदेशमा खर्च हुने रकम स्थानीय तहमा लगानी गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने सुझाव पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया