काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन् । हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न उनले आग्रह गरे ।
उनले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तर्निहित अर्थ हेर्दा गणतन्त्रको महत्त्व धेरै हुने उल्लेख गरे । उनले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बताए ।
उनले भने, ‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्त्वपूर्ण दिन हो गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने । गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तर्निहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठुलो हुन्छ । १५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसो भए संशोधन गरियोस् । सरकारलाई त भन्छु नै सभामुख महोदयलाई पनि आग्रह गर्दछु किनभने यो संसदको विषयमा पनि पर्छ । अरू विषयमा संशोधन नभए पनि संविधानमा संशोधन गर्ने दुई दलको समझदारी पनि भएको छ ।’
सांसद निधीले संसद्को विषय भएकाले पनि संसद्मा विशेष ध्यान दिनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया