ज्ञानेन्द्र शाहीकाे आरोप : ‘सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको श्रमको सम्मान गर्न सकेन’

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् । 

उनले आज पनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए ।  

उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलब भत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो पर्दैन ? भन्दै प्रश्न गरे । 

वैदेशिक रोजगारीको नाममा आज पनि लाखौँ मानिसहरू दलालबाट ठगिएको उनको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्न नसकेको उनको आरोप छ । 

उनले भने, ‘अहिले मात्रै पनि मुलुकमा १४ खर्ब ३२ करोडको रेमिट्यान्स विदेशबाट नेपाली नागरिकले पठाएको हो । आज हामी सांसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरूको तलब र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ । हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन ? यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ भन्छन् ।  आज लाखौँ नेपाली नागरिकहरू दलालको ठगीमा परेर घरबार विहीन भएका छन् । तर श्रम मन्त्रालयमा सिर्फ झण्डा हालेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो ? यदि त्यो मन्त्रायले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन । अहिले पनि नेपाली अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयले कुनै पनि कूटनीति गाँसेको छैन । जहाँ गए पनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ सभामुख महोदय ।’

वैदेशिक रोजगारीको लागि जहाँ गए पनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?