भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक : उपप्रधानमन्त्री सिंह

लोकपथ
35
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रूपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताएका छन् ।  

नेपाल भाषा, एकेडेमीद्वारा आज आयोजित ‘नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उनले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताए । 

उप्रधानमन्त्री  सिंहले भने, ‘सम्पदाका रूपमा रहेका पहिचानको संरक्षण गर्दै नेवार समुदाय राजनीतिमा पनि आउन जरुरी छ, कार्यक्रमको निचोड समुदायका सबै तह र तप्काले थाहा पाउनुपर्छ ।’

काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रूपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषि कर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गरे । उनले भने, ‘नेवा प्रविधि र शिल्प ज्ञानलाई पाश्चात्य दृष्टिकोणबाट मात्र नभई समुदायले विचारका आधारमा अनुसन्धान अघि बढाउन जरुरी छ, नेपाल भाषा नेपालीलेभन्दा विदेशीले बढी अनुसन्धान गरेको तथ्याङ्कले देखाएको छ ।’

नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सभ्यता– नेवा प्रविधि–शिल्प ज्ञान विषयक कार्यपत्र प्रस्तुत गर्दै नेवारी समुदायले अभ्यास गरिरहेका चित्रकला, जात्रा, पर्व, नाटक, लेख, अनुसन्धान र खानपिन देशकै अमूल्य निधि भएको बताए ।

 नेवार सांस्कृतिक समुदायका रूपमा पहिलेदेखि परिचित भए पनि नेवार एउटा सभ्यता हो, भनेर पुष्टि गर्न आजको कार्यक्रम पहिलो प्रयास भएको दाबी गरे ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि राम मादेनले आदिवासी समुदायभित्र आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचान जोगाउने सूचीमा नेवार समुदाय अग्रस्थानमा रहेको उल्लेख गरे । 

प्रतिष्ठानका उपकुलपति पुष्पराज राजकर्णीकारले विश्वमै एउटा सभ्यताका रूपमा रहेको नेवारी समुदायले गर्दै आएका खेतीपाती, जात्रा, पर्व र शिल्पज्ञानलगायत  प्राविधिक विषयलाई थप परिस्कृत गर्दै लैजान आवश्यक रहेको धारणा राखे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?