काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरूले भारत पाकिस्तानमा युद्ध सुरु भएकाले त्यहाँ बसोबास गर्ने नेपालीहरूको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरूको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘भारत र पाकिस्तानबिच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरूको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न/गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
यसअघि सभाको बैठकमा सांसदहरूले भारत–पाकिस्तानबिचको सम्भावित युद्धबाट नेपाललाई पर्न सक्ने असरको विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।
कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले भारत र पाकिस्तानबिच युद्धको स्थिति सिर्जना गरेको छ । ‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ । पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ । यी दुई देशबिचको बढ्दो तनावले विश्व राजनीति तरंगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया