स्वर्णिमको प्रश्न – ‘दक्षिण एशियाली सपना कोमामा छ, ब्युँताउने हो कि मर्न दिने ?’

लोकपथ
315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले काठमाडौंमा भएको पछिल्लो १८औँ सार्क शिखर सम्मेलनको १० वर्ष नाघिसकेको बताउँदै सो बेला आफूले प्रस्ताव गर्ने मौका पाएको स्मरण गरे । उनले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एशियाली सपना कोमामा रहेको बताउँदै त्यसलाई कोमामै राख्ने, मर्न दिने वा ब्युँताउने भन्नेमा निक्र्यौल गर्नुपर्ने बताए । 

उनले तनहुँमा जन्मिएका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल भएको स्मरण गर्दै अहिलेको सरकारबाट उक्त अपेक्षा नरहेको बताए । उनले श्वेत पत्र आउने अपेक्षा पनि नरहेको बताउँदै माग भने गर्न चाहेको जिकिर गरे । 

उनले भने, ‘पछिल्लो १८औँ सार्क शिखर सम्मेलन यही काठमाडौंमा भएको थियो । १० वर्ष नाघिसक्यो । त्यतिखेर कुन थिम राख्ने भन्दा मैले नै प्रस्ताव गर्ने सौभाग्य पाएको थिए । शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको त्यो दक्षिण एशियाली सपना आज कोमामा छ । कोमामै राख्ने हो कि, यसलाई मर्न दिने हो कि । यसलाई ब्युँताउने हो, यसबारे हामीले निक्र्यौल गर्नुपर्ने छ । तनहुँमा जन्मनुभएका सरदार यदुनाथ खनालले नेपाल चीन सीमामा रहेका १८ वटा भारतीय सैनिक चेक पोस्टलाई वार्ताबाट नै हटाउन सफल हुनुभएको थियो । भारतसँग सम्बन्ध नबिगारीकन । त्यसको लागि गहिरो अध्ययन, उच्च नैतिकता र फराकिलो अनुभव चाहिने थियो । त्यस्तो अपेक्षा अहिलेको नेतृत्वबाट छैन । एउटा श्वेत पत्र आहोस् भन्ने अपेक्षा पनि छैन । तर माग भने म गर्न चाहन्छु ।’ उनले अहिलेको सरकार र नेतृत्वबाट राम्रो कुराको आश र अपेक्षा गर्न नसकिने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?