भनसुन र पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् : एनपी साउद 

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद(एनपी) ले भनसुन र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट वितरण गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउदले यस्तो बताएका हुन्  । उनले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गरे । 

मुलुकको सन्तुलित विकास हुने गरी बजेट विनियोजन गर्नुपर्ने धारणा राख्दै साउदले योजना निर्माणमा स्थानीय, प्रदेश र संघ सरकारबिच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आग्रह गरे । 

उनले भने, ‘केही नेता र मान्छेहरुले भनसुनको आधारमा आफ्नो क्षेत्रमा बजेट लगेका दृष्टान्त छन् । अब त्यसको पुनरावृत्ति नहोस् । र त्यसको ठाउँमा योजनाहरूमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको गरेर योजनाहरू दोहोरिने स्थिति पनि नहोस् । मुलुकको सन्तुलित विकास होस् । १६५ क्षेत्र, हिमाल, पहाड, तराई सबै ठाउँका जनताका आकांक्षहरु परिपूर्ति गर्ने दिशातिर सरकार जाओस् । म सरकारसँग आग्रह गर्न चाहन्छु ।’

उनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी बजेट ल्याउनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?