काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ माग गरेको छ ।
प्रधानमन्त्री वा गृहमन्त्रीमध्ये एक जनासँग जवाफ माग गरेको नाउपाले भोलि मंगलबारसम्म जवाफ नआए सरकारबाट फिर्ता हुने चेतावनीसमेत दिएको छ ।
नाउपाबाट अरुण चौधरी नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्रीका रूपमा सरकारमा सामेल छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नाउपाका सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए ।
उनले भने, ‘यसबारेमा अहिलेसम्म सरकारको धारणा आएको छैन । त्यसैले भोलिकै दिनमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौँ ।’
उनले वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला पार्टीका संरक्षक चौधरीलाई अपहरण गरेर डिल्लीबजार पुर्याइएको पनि बताए ।
त्यस दिन नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्याइएको बताए ।
त्यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया