काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् । उनले सरकारले शिक्षकहरूलाई अल्झाउनको लागि वार्ताको नाममा नाटक गरिरहेको आरोप लगाएका हुन् । उनले शिक्षकहरूका माग सम्बोधन गर्न नाटक नभई सार्थक वार्ता गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) शिक्षकहरूले गरिरहेका आन्दोलनमा तत्काल सरकार वार्ता गरोस् । वार्ताको नाटक होइन सार्थक वार्ता गरोस् र समस्या समाधान गरोस् । शिक्षकहरूलाई मर्यादित बनाएर विद्यालय कर्मचारीका समस्याहरूलाई समेत समाधान गर्दै यो सडक आन्दोलनलाई तत्काल टुंग्याउने काममा ध्यान देओस् ।’
उनले अहिले प्रमुख राजनीतिक दलहरू सरकारमा भएको बेलामा शिक्षकहरूसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण शिक्षकका समस्याहरू पेचिलो हुँदै गएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया