प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम

लोकपथ
308
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ ।

उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरू समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरूलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरे ।

उनले भने, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुपर्‍यो । त्यसपछि बसेर योजना बनाउनुपर्‍यो । पिउने पानीदेखि विद्यालयसम्म जति पनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन । यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्‍यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ । अब आधारभूत रूपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।’ व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने गौतमको जिकिर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?