भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ : मन्त्री अधिकारी

लोकपथ
147
Shares
फाइल तस्बिर

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगको प्रक्रियाबाट गरिने बताएका छन् ।   

राष्ट्रिय कृषि बँधुवा मजदुर संघर्ष समितिको टोलीसँग आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा भएको छलफलमा उनले सरकारले विसं २०७६ मा मुक्त कमैया, हलिया, हरवाचरवालगायत भूमिहीन नागरिकका समस्या समाधान भइसकेको घोषणा गरेकाले अब अन्य उपायबाट बाँकी समस्या समाधान गर्दै जाने बताउँदै यो चुनौतीपूर्ण रहेको उल्लेख गरे ।  

मन्त्री अधिकारीले समस्या समाधानका लागि अन्य उपायबारे छलफल गर्न सकिए पनि तत्काललाई आयोगको विधि र प्रक्रियाअनुसार आउन सबैलाई आग्रह गरे । ‘हालसम्म मुक्त घोषणा गरिएका जति पनि समुदाय छन् तिनका अधिकारका लागि सरकार संवेदनशील छ, तर विशेष व्यवस्थासहित समस्या समाधान गर्न सकिने अवस्था छैन । त्यसैले यहाँहरू सबैले आयोगको प्रक्रियाबाट आउनु आवश्यक छ, त्यसमा मन्त्रालयले आवश्यक सहजीकरण गर्छ, ‘उनले भने, ‘त्यसबाहेक सरोकार भएका निकाय र समूहसँग छलफल गरी अन्य कुनै निष्कर्षमा पुग्नेबारे बहस गर्नेछौँ, त्यसका लागि पनि मन्त्रालय तयार छ ।’

सरकारले विसं २०५७ साउन २ गते कमैया, विसं २०६५ भदौ २१ गतेको हलिया, विसं २०७० साउन ३ गते कम्लरी र विसं २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?