मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा छौँ : मन्त्री सुडी

लोकपथ
147
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार लागिरहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय सडक बालबालिका दिवसको सन्दर्भमा साथसाथ नामक संस्थाले आज आयोजना गरेको ‘सडकसँग आबद्ध बालबालिका र महिलामन्त्रीबीच अन्तरसंवाद’ कार्यक्रममा उनले चालु आर्थिक वर्षभित्रमा मुलुकलाई सडक बालबालिका मुक्त गर्ने सरकारको संकल्प रहेको उल्लेख गर्दै यसमा सबैको साथ र सहकार्य आवश्यक पर्ने बताए । मन्त्री सुडीले बालबालिकाका विषयमा संघीय र प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार बढी जवाफदेही हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘टोलटोल, गाउँ गाउँका बालबालिकाका बारेमा वडा कार्यालय, पालिका कार्यालयलाई बढी जानकारी हुन्छन्, त्यसैले मुलुकलाई सडक बालबालिका मुक्त बनाउन स्थानीय सरकारको जिम्मेवारी र भूमिका थप महत्त्वपूर्ण हुन्छ ।’ 

सरकारले बालबालिकाको अधिकार, संरक्षणलगायत विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत रहेको राष्ट्रिय बाल अधिकार परिषद्ले गम्भीरताका साथ काम गरिरहेको मन्त्री सुडीले जानकारी दिए । सरकार र गैरसरकारी संस्थाबिच आपसी सहयोग र समन्वयका आधारमा सडक बालबालिका मुक्त बनाउनुपर्ने उनको भनाइ छ । 

साथसाथले सडक बालबालिकाको जन्मदर्ता हुन नसक्दा उनीहरू शिक्षा, स्वास्थ्यलगायत अवसरबाट वञ्चित हुनु परेको भन्दै सडक बालबालिकाको जन्म दर्ताको व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएको छ ।

तीन पुस्तासम्म कानुनी पहिचान नभएका बालबालिकाले जन्मदर्ता बनाउन नसक्दा राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेकाले जन्म दर्ताको व्यवस्था गर्न साथसाथले सरकारसँग आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?