आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण

लोकपथ
154
Shares


काठमाडौं
। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंक (एडीबी) ले गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेकोमा यो वर्ष सामान्य बढेर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । एडीबीले आगामी आर्थिक वर्षमा भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।

जलविद्युत् उत्पादनमा वृद्धि, गहुँ उत्पादन र सेवा क्षेत्रमा आएको उत्साहले अर्थतन्त्रमा सुधार हुँदै गएको एडीबीले जनाएको छ ।
चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने । यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने उनले बताए ।

यो आर्थिक वर्षमा थप ९०० मेगावाट उत्पादन बढ्ने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणको छ ।

पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने खड्काले बताए । व्यापार तथा पारवहन क्षेत्रले पनि राम्रो योगदान गर्ने छ । केही समय भएको कानूनी परिवर्तनले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?