परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री देउवा

लोकपथ
427
Shares
फाइल तस्बिर

काठमाडौं ।  परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धार (रेस्क्यु) गर्नेजस्तो मात्र भएको बताएकी छन् ।

नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनिन्, ‘अहिले विदेशमा नेपालीहरू यतिधेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरूको उद्धार गर्नेजस्तो मात्र भएको छ ।’

मन्त्री डा.राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी दिइन् । अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूतावास रहेका तर नेपालीहरू भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री डा.देउवाले नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्नेबारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको उनको भनाइ छ  ।

बङ्गलादेशको उदाहरण दिँदै उनले भनिन्, ‘जस्तो कि बङ्गलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरूलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुपर्‍यो भन्नेजस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूतावासमा रहेको सीमित जनशक्तिले समन्वय गर्‍यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौँ ।’

उनले मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रूपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेका जानकारी गराउँदै पछि यदि उनीहरू समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्नसक्ने पनि बताइन् ।  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?