ओलीलाई प्रचण्डको सुझाव– ‘स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्नुस्’

लोकपथ
1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । 

आइतबार धनुषामा जनतासँग माओवादी तराई-मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको काम कारबाहीमा सरकार सञ्चालन गरे यता प्रधानमन्त्री ओलीले उत्तिर्णाङ्क समेत नल्याएको भन्दै राजीनामा दिन आग्रह गरेका हुन् । 

उनले प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तीर्ण हुने अनि शिक्षकलाई गाली गर्ने ? भन्दै प्रश्न गरे । उनले मन्त्रीपरिषद्को कार्य सम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहेको ? भन्दै प्रश्न गरे । शिक्षकलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उनको सुझाव छ । 

उनले भने, ‘अहिलेको सरकारले के भन्छन् त तपाईँले प्रधानमन्त्रीको कुरा सुन्नुभयो होला । ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा भनेर उनले अझ मास्टरलाई गाली गरे । राज्यले उचित बजेट दिनुछैन । व्यवस्थापन गर्नुछैन । अझ शिक्षकलाई गाली गर्नेतिर प्रधानमन्त्रीको बुद्धि छ । कर्मचारीलाई गाली गर्नेतिर छ बुद्धि । म के भन्न चाहन्छु भने प्रधानमन्त्रीजी तपाईँको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईँ २८ प्रतिशतमा पर्नुभएको छ । तपाईँ त फेल नै हुनुभएको छ । किन बसिराखेको प्रधानमन्त्रीमा ? तपाईँले शिक्षकलाई गाली गर्न मिल्छ । तपाईँका मन्त्रीहरूको कोहीको १८, कसैको २१ प्रतिशत छ । तपाईँको २८ छ । यु आर फेल । त्यसकारण प्रधानमन्त्रीजी तपाईँ शिक्षकलाई गाली गर्न छोडिदिनुस् । आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री छोड्नु उचित हुन्छ तपाईँले । होइन भने जनताले तपाईँको नौटंकि हेरिरहेका छन् ।’

अध्यक्ष दाहालले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप लगाए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?