कांग्रेसले रोक्यो १०० दिने अभियान, राहत कोषमा ५० लाख दिने

लोकपथ
70
Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले देशभर आएको बाढीपहिरोपछि आफ्नो पूर्व निर्धारित १०० दिने अभियान रोकेको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले दसैँको कोजाग्रत पूर्णिमासम्मका लागि १०० दिने अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै आजको बैठकले कांग्रेस पार्टीको तर्फबाट सरकारको राहत कोषमा ५० लाख जम्मा गरिदिने र सबै सांसदहरुको बाढी प्रभावितहरुलाई १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा.महतले जानकारी दिए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । साथै उनले कोजाग्रत पूर्णिमामा कांग्रसले गर्दै आएको चियापान कार्यक्रम पनि नगर्ने निर्णय भएको उनले बताए ।

बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?