गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा आज पनि पोखरेलकै इजलासमा

लोकपथ
1.3k
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज बिहीबार पनि न्यायाधीश सुनिलकुमार पोखरेलकै इजलासमा पेशी तोकिएको छ । बुधबार पोखरेलकै इजलासमा तोकिएको उक्त रिट निवेदन दिएर हटाइएको थियो ।

तर आज पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको छ । सो मुद्दाको पेशी आज तेस्रो नम्बरमा रहेको छ । हिजो १० नम्बरमा रहेको थियो ।आज पनि पोखरेलकै इजलासमा पेशी परेपछि हटाउने वा बहस गर्ने विषयमा आफूहरू छलफल गरिरहेको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले बताए ।

पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेकाले उनले बुधबार सोही कुरा राखेर हेर्न नमिल्नेबारे जिज्ञासा राखेका थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्तिपछिको हेर्ने जवाफपछि स्थगित गराइएको थियो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यसविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका थिए । सो रिट सुरुमा सर्वाेच्च प्रशासनले दरपिठ गरिदिएको भएपनि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो ।

रिटमा गृहमन्त्री लाछिछानेमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने, विभिन्न जिल्लामा ठगीको अभियोगपत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले गृहमन्त्री पदमा नैतिक रूपमा बस्न नमिल्ने जिकिर गरिएको छ । रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?