काठमाडौं । ललितपुर महानगरपलिकाका प्रमुख चिरीबाबु महर्जनले पालिकाहरुले रैथाने प्रजातिका फूलहरुलाई प्रवर्धन गर्न आवश्यक भएको बताएका छन् । आगामी आर्थिक वर्षदेखि आफ्नो महानगरभित्रका सामुदायिक, सरकारी तथा निजी विद्यालयका बीचमा बगैंचा प्रतियोगिता गराई पुरस्कृत गर्ने पनि उनले बताए ।
ललितपुरमा सोमबार महानगरपलिकाद्वारा प्रकाशित जर्नल ‘बगैंचा र पोखरी’ लोकार्पण कार्यक्रममा उनले महानगरपलिकाभित्र सञ्चालित सबै विद्यालयले विद्यार्थीलाई रैथाने फूलबारे जानकारी दिनुपर्नेमा जोड दिए । त्यसलाई प्रोत्साहन गर्न महानगरले बजेटमार्फत व्यवस्था गरी कार्यक्रम सञ्चालन गर्ने उद्घोष पनि गरे ।
कार्यक्रममा सहभागीले दिएको विद्यालय स्तरबाटै रैथाने फूलबारे बालबालिकालाई समेत जानकारी गराउनुपर्ने सुझावलाई आफूले ग्रहण गरेको उनले बताए । उनले भने, ‘म पुष्पमान सरसँग अति खुसी भए । यहाँको बोर्डिङ, सामुदायिक स्कूलहरुको बीचमा एउटा प्रतिस्पर्धा गराउँ, जसको बगैंचा राम्रो छ त्यसलाई पुरस्कृत गरौं भनेर उहाँले भर्खरै जुन कुरा भन्नुभयो, हामी त्यसलाई आउँदो आर्थिक वर्षदेखि लागू गर्छौ ।’
अहिले बजेट निर्माणको समय भएकाले उचित सुझाव आएको उनले बताए । यस्तै, उनले ललितपुर महानगर कला, संस्कृति र प्रकृतिको संरक्षणमा निरन्तर लागिरहेको उल्लेख गर्दै महानगरलाई हरियाली बनाउनलेतर्फ अघि बढेको भनाइ राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया