आइतबारको विस्फोटमा मृत्यु हुने चारै जना विप्लवका कार्यकर्ता रहेको पुष्टि भएको छ । सरकार र सो समूह दुवैले यसको पुष्टि गरेका छन् । सुकेधाराको विस्फोटमा मृत्यु हुनेमा कालिकोटमा दीपेन्द्र विक, निरन्तर मल्ल र महान छन् । त्यस्तै घट्टेकुलोमा विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ । विप्लवले विज्ञप्ति जारी गरी सबैजना आफ्ना कार्यकर्ता भएको र उनीहरूको कसरी मृत्यु भयो भन्नेबारे सत्यतथ्य बाहिर ल्याउने बताएका छन् ।
घाइते भएकाहरू समेत सबै सोही समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । सुकेधाराको विस्फोटमा घाइते हुनेमा सुरेन्द्र महर्जन, हरिचन्द्र खड्का, पूर्ण खड्का र जीतकुमार ठाकुर छन् । घट्टेकुलोमा रवीन्द्र केसी तथा थानकोटको विस्फोटमा बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । उनीहरू सबै सोही पार्टीमा आबद्ध व्यक्ति भएको प्रहरीको भनाइ छ ।
सोधपुछमा आइतबार सुरेन्द्र महर्जनले टाइमर मिलाउने क्रममा बम पड्केको प्रहरीलाई बताएका थिए । तर, सोमबार सोधपुछ गर्दा दीपेन्द्र र महावीरले बोलाएपछि आफू सो सैलुनमा गएको र गएलगत्तै विस्फोट भएको बताएका छन् । ‘त्यहाँ हामी चार जना थियौं, दुई जना नयाँ केटा थिए, उनीहरूलाई म चिन्दिनँ, कसरी पड्कियो मलाई थाहा छैन,’ उनले भनेका छन् ।
त्यस्तै सैलुन सञ्चालक ठाकुरले पनि त्यहाँ आएका कसैलाई पनि आफूले नचिनेको दाबी गरेका छन् । आफ्नो सैलुनमा ल्याएर अरुले बम पड्काएको उनको भनाइ छ । तर, ठाकुरको पनि उनीहरूसँग चिनजान देखिएको प्रहरीले जनाएको छ ।
अनामनगरको विस्फोटमा घाइते भएका रविन केसीले साथीले बोलाएपछि आफू उनको कोठामा गएको र ढोकामा पुग्नेबित्तिकै बम पड्केको बताएका छन् । ‘म शान्तिनगरमा थिएँ, साथीले बोलाएपछि गएको । ऊ अलि वरसम्म लिन आएको थियो, स्कुटर घरभन्दा अलि परै राख भन्यो,’ उनले भनेका छन्, ‘म उसको कोठामा पुगेँ । कोठामा घुमेर बाहिरबाट छिर्नुपर्ने रहेछ, एउटा हातले ढोका समाएर जुत्ता खोल्दै थिएँ, ढ्यांग आवाज आयो । मलाई अस्पताल लैजाउ भन्दै चिच्याएँ, उनीहरूले नै मलाई अस्पताल ल्याएका हुन् । बमबारे मलाई केही थाहा थिएन ।’ नयाँ पत्रिकामा याे खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया