नेपाल–भारत सीमा तीन दिन बन्द हुने

वीरगञ्ज । नेपाल–भारत सीमा आगामी तीन दिन बन्द हुने भएको छ । 

सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको हो । 

वैशाख २७ गतेदेखि २९ गते (मे १० देखि १२ तारिक)सम्म तीन दिन नेपाल भारतको सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सूचना मार्फत जानकारी दिएको हो । 

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको बताए ।

विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुने उनले बताए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?