जनस्तरबाट कैलालीको लम्कीमा बन्यो ‘नमुना अध्ययन गृह’

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकास्थित मुक्त कमैया वस्तीमा हिजो(शनिवार) ‘नमुना अध्ययन गृह’ नामक बाल गृहको उद्घाटन गरिएको छ । अध्ययन गृह कमैया वस्तीका १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका निमित्त स्थापना भएको हो । 

५ वर्षमुनिका स्कुल नजाने बालबालिकाहरुलाई स्कुल जाने बानी बसाल्न साथै अभिभावक काममा व्यस्त हुने भएकाले उनीहरुको उचित रेखदेख गर्नलाई अध्ययन गृह स्थापना गरिएको ‘नमुना अध्ययन गृह’का अध्यक्ष जनक सुनारले बताए । ‘यहाँ ५ वर्षमुनिकालाई स्कुल जानुअघि सिक्नुपर्ने सामान्य कुराहरु सिकाइन्छ,’ उनले अगाडि थपे, ‘साथै ५ वर्षमाथिका कमैया वस्तीका विद्यार्थीलाई स्कुलबाट फर्किएपछि उचित पढ्ने सामाग्री तथा वातावरण उपलब्ध गराइन्छ ।’

अध्ययन गृहको लागत १७ लाख १२ हजार २४ रुपैयाँ रहेको अध्यक्ष सुनारले जानकारी दिए जसमा ११ लाख १२ हजार २४ रुपैयाँ विभिन्न संस्था र व्यक्तिबाट उठेको रकम हो भने कमैया वस्तीका अभिभावकहरुले ७ लाख बराबरको श्रमदान गरेका हुन् ।

हाल अमेरिकामा बस्ने कैलाली लम्कीचुहा नगरपालिकाका मदन कठायत्ले आफ्नी स्वर्गीय आमाको स्मरणमा १ लाखभन्दा बढीको लागतमा बालगृह परिसरमा सरस्वतीको मन्दिर स्थापना गरेका छन् ।

उद्घाटन कार्यक्रम लम्कीचुहा नगरपालिकाका मेयरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा यस वर्षका नेपाल आयडल विजेता रभी ओडको पनि उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?