‘फानी’को देशभर प्रभाव : सगरमाथामा टेन्ट उडायो, ‘हेलिकप्टर नउडाउनु’

काठमाडौं । शुक्रवार मध्याह्न आएको हावाहुरीले सरगरमाथा आरोहणका लागि राखिएका कम्तीमा २० वटा टेन्ट उडाएको छ । 

सगरमाथा आरोहणकालागि ६२ सय मिटरको उचाइमा राखिएका टेन्ट उडाएको हो । 

६ हजार २ सय मिटरमा आरोहीका लागि दोस्रो क्याम्प रहन्छ । 

तीव्रगतिमा आएको हावाहुरीले दोस्रो क्याम्पमा राखिएका १८–२० टेन्ट नष्ट गरिदिएको समाचार प्राप्त भएको छ । 

एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेलेका अनुसार ७ हजार मिटरभन्दामाथि अत्याधिक कालो बादल छाएको छ । त्यहा हावाको ८०–९० किलोमिटर प्रतिघन्टाको गतिमा चलेको छ ।

शुक्रवारदेखि शक्तिशाली चक्रवात ’फानी’को प्रभावका कारण पूर्वी नेपालमा हावाहुरी, मेघगर्जनको हुन सक्ने भन्दै जल तथा पूर्वानुमान माहाशाखाले पनि सचेत गराएको छ ।

यसैबीच पर्यटन विभागले पनि शुक्रवार सूचना जारी गरी पर्यटक र तीनका एजेन्सीहरुलाई सचेत गराएको छ । 

‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्नु’, विभागका निर्देशक मीरा आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि क्षति हुन नदिने प्रवन्ध गर्नु गराउनु ।’

साथै नेपाली हेलिकप्टरहरुको व्यवसायिक संगठन हेलिकप्टर सोसाइटी अफ नेपालले आँधी ‘फानी’को प्रभावलाई मध्यनजर गर्दै आफ्ना सदस्य कम्पनीहरुलाई शुक्रवार डेढ बजेदेखि उडानमा सर्तकता अपनाउन भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?