निर्माण व्यवसायीलाई अज्ञात फोन नम्बरबाट शृंखलाबद्ध ज्यान मार्ने धम्की

काठमाडौं-निर्माण व्यवसायी महासंघले व्यवसायीहरूलाई अज्ञात फोन नम्बरबाट ज्यान मार्ने धम्की आइरहेको सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर महासंघले गत फागुनदेखि पटक–पटक ज्यान मार्ने धम्कीले निर्माण व्यवसायी प्रताडीत भएको र आयोजनास्थलमा समेत जान नसकेको जनाएको छ । ‘आयोजनाको तीन प्रतिशत वा डेढ करोड नदिए शरद गौचनको हालत बनाउने धम्कीले पेसाबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ,’ महासंघ अध्यक्ष रवि सिंहले भने । धम्कीपूर्ण भाषा प्रयोग गरेर महासंघका पूर्वअध्यक्षहरू, कार्यसमितिका सल्लाहकार, पदाधिकारीलगायत करिब २५ व्यवसायीलाई फोन आइरहेको महासंघ महासचिव रोशन दाहालले बताए ।

व्यवसायीहरूले सम्बन्धित निकायमा मौखिक र लिखित जानकारी गराए पनि धम्की दिनेहरू पत्ता नलागेको जवाफ आउने गरेको बताए । ‘निर्माण व्यवसायीहरूलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायहरूलाई समयमै जानकारी गराउँदासमेत सुनुवाइ भएन,’ महासंघ अध्यक्ष सिंहले भने । व्यवसायीहरूले घटनाबारे प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी र संसदीय समितिलाई लिखित र मौखिक जानकारी गराएको बताए । नयाँ पत्रिका दैनिका खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?