गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा बिहीवार बिहान जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

दुर्घटनामा परी घाइते भएकी मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापालाई  उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो । 

त्यसअघि धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो । शर्मा नेपाली कांग्रेसका पूर्वसांसदसमेत हुन् ।

गुल्मीको दर्लिङ्गबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप सडकबाट करिब १ सय मिटर तल खसेको थियो । जीपमा १० जना सवार थिए ।

अन्य घाइतेहरुलाई जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा उपचारका लागि लगिएको छ । 

दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?