रामेछाप । रामेछापको दुर्गम गाउँ दोरम्बा शैलुङ गाउँपालिका–६ लखनपुरमा सामान्य किसान परिवारमा जन्मिएका रत्नप्रसाद गौतम गाउँमा दुःखै गरेर हुर्किए ।
गाउँमा नै पढे, गाउँको दुःख बुझे, संघर्ष गरे । संघर्ष गरेरै काठमाडौं छिरे ।
काठमाडौंमा पनि निरन्तर संघर्ष गरे र व्यवसायमा लागे, मिहिनेत गरे अनुसार समयले साथ दियो । राम्रै कमाइ भयो । त्यसले उनलाई स्थापित व्यवसायी बनायो ।
व्यवसायमा स्थापित भए पनि गौतमले दुःख भुलेनन् । गाउँका समस्या बिर्सिएनन्, भुईँ मान्छेको पीडा सहरको बसाइले पनि उनलाई बिर्सन दिएन । त्यसैले समस्यामा परेकालाई सहयोग गर्ने हुटहुटी जागिरह्यो ।
विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका गौतमले केही वर्षयतादेखि रामेछापबाट काठमाडौं उपचार गर्न गएर आर्थिक समस्यामा परेको बिरामीलाई सहयोग गर्दै आएका छन् । कतिपयलाई सहयोग गरियो होला ? गौतम भन्छन्, ‘कतिलाई गरियो भन्ने हिसाब त राखेको छैन, तर सयौँको संख्यामा गरियो ।’
अस्पतालमा उपचार गराइरहेका आर्थिक अभाव झेलका बिरामीलाई गौतमले १० हजारदेखि एक लाख रुपैँया सहयोग गरेको बताउँछन् । ‘बिरामीको अवस्था हेरेर १० हजार देखि एक लाख रुपैँयासम्म सहयोग गरेको छु, आफूले सकेको गर्ने त हो नि’, उनले भने ।
हिजो मात्रै पनि दुई जना बिरामीलाई सहयोग गरेको उनले सुनाए । ‘मन्थली नगरपालिका–११ गेलुका फोक्सोको क्यान्सर पीडित आशा मगरलाई उपचारको लागि २५ हजार रुपैँया सहयोग गरियो, त्यस्तै दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराका ब्रेन ह्यामरेज भई उपचार गराइरहनुभएका बस्तीलाल तामाङलाई २० हजार रुपैँया सहयोग गरियो’, उनले भने ।
काठमाडौंमा उपचार गर्न आएर आर्थिक अभाव झेलिरहेका बिरामीलाई भेट्न गौतम सकेसम्म आफैँ खर्च लिएर पुग्छन् । नभ्याउँदा सहयोगी र शुभचिन्तकको हात खर्च पठाउँछन् । ‘धेरै पटक मैले पनि अस्पतालमा बिरामीलाई उहाँको तर्फबाट पैसा र्पुयाइदिएको छु’, विद्यार्थी नेता तिलक घतानीले भने ।
विगतमा बिरामीलाई समस्या परेको सुनपछि गौतम आफैँ पैसा लिएर अस्पताल पुग्थे । अहिले उनले बिरामीलाई सहयोग गरेको कुरा सञ्चार माध्यममा आएपछि बिरामीका आफन्त तथा शुभचिन्तकले नै फोन गरेर सहयोगको लागि अनुरोध गर्दछन् ।
सोही आधारमा बिरामीको अवस्था अनुसार सहयोग गरेको गौतमले बताए । ‘सकेको सहयोग गरेको छु, आशा गर्ने कसैलैलाई पनि निराश बनाएको छैन, धेरै क्षेत्रमा सहयोग गरेँ तर बिरामीको उपचारमा गरेको सहयोगमा भने छुट्टै आत्मसन्तुष्टि हुने गरेको छ, अन्य क्षेत्रमा गर्ने सहयोग घटाएर भए पनि यसलाई भने सकेसम्म निरन्तरता दिने सोच बनाएको छु’, उनले भने ।
गौतमले अस्पतालका बिरामीलाई मात्र होइन, रामेछापबाट काठमाडौं लैजानु पर्ने कतिपय गम्भीर बिरामीलाई पनि हेलिकप्टर पठाएर काठमाडौं लागि ज्यान बचाएका छन् । जिल्लामा आगलागी लगायतका बिपतमा परेकालाई सकेको सहयोग गरेका छन् ।
कोभिडको बेलामा रामेछापका स्वास्थ्य संस्थालाई औषधि, अक्सिजन सिलिण्डर, बेड, जाँच गर्ने किड्स लगायत ठुलो सहयोग उनले गरेका थिए । जसले गर्दा अप्ठेरो पर्दा रामेछापका मानिसले सम्झने नाम बनेको छ रत्न गौतम ।
पैसा धेरै मानिसले कमाएका भए पनि सहयोगी भाव भने मुख्य कुरा भएको वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ बताउँछन् । ‘पैसा कमाएर मात्र हुँदैन, उहाँमा सहयोगी भाव छ, त्यसैले यी सब काम गर्नुभएको छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया