भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सांसद आचार्यको टोली जाजरकोटमा

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्य जाजरकोट भूकम्प प्रभावितहरुका लागि आवास निर्माणमा खटिएका छन् ।

भूकम्प प्रभावितहरुका लागि एक हजार घरटहरा बनाउने कांग्रेसको योजना अनुसार सांसद आचार्यसहितको टोली जाजरकोटमा अस्थायी आवास निर्माणका लागि खटिएको हो ।

उनको नेतृत्वमा बिहीबारदेखि जाजरकोटको विकट क्षेत्र कुशे गाउँपालिका–७ धनराशिमा आवास निर्माणका काममा कांग्रेसका ३२ जनाको टोली खटिएको हो ।

भूकम्पले क्षतिग्रस्त संरचना हटाउँदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य सुरु गरिएको आचार्यले जानकारी दिए ।

भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको उनको भनाइ छ । उनको नेतृत्वको सो टोली एक सातासम्म सो क्षेत्रमा भूकम्पपीडितका आवास बनाउने काममा लाग्ने जानकारी पनि उनले दिए ।

इन्जिनियर आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी अहिले तत्कालका लागि अस्थायी टहरा निर्माण गर्ने र यसका लागि स्थानीयस्तरमा उपलब्ध रहेका तथा आफ्नो समूहमा रहेका दक्ष जनशक्तिको प्रयोग गर्ने जानकारी दिए ।

आवास निर्माणका लागि आवश्यक र उपलब्ध रहेमा स्थानीय सामग्रीको प्रयोग गरिएको र उपलब्ध नरहेका अवस्थामा किलाकाँटी लगायतका सामग्री हामी आफैँले ल्याई प्रयोग गरेको पनि बताए ।

विकट क्षेत्र र बाटोको सुविधा नभएकाले निर्माण सामग्री लैजानका लागि समस्या भएको उनले बताए ।

सांसद आचार्यले पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले जाजरकोट भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गर्ने निर्णय गरेको छ । जसअनुसार कांग्रेसका नेताहरु टोलीसहित त्यसतर्फ गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?