भद्रपुर । प्रहरीले झापाबाट १४ कार्टुन भारतीय औषधीसहित चार जनालाई पक्राउ गरेको छ ।
झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उनीहरुलाई मे १ च ४०६३ नं को मारुति भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधी लुकाइछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिबार पक्राउ गरेको थियो ।
बरामद गरिएको औषधीमा ब्रेस्टिम आयल तेल ७ सय ९९ बट्टा, ओर्लिम्याक्स ३ सय १० क्याप्सुल उल्लेखित भएको पाँच कार्टुन, फ्लोमिस्ट नासल स्प्रे दुई कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको दुई कार्टुन, एमएग्रा उल्लेखित एक हजार बट्टा र जुरिक उल्लेखित एक कार्टुनमा रहेको ४ सय ५ बट्टा फोरडम उल्लेखित एक हजार २ सय बट्टालगायत रहेको छ ।
सो सामानको मूल्य २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौं लैजान लागेको प्रहरीले जनाएको छ ।
बरामद औषधी आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कारवाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया