विराटनगर । औद्योगिक कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तु निकासीका लागि सहयोग पुग्ने गरी सुरु गरिएको भारत–नेपाल कार्गो रेल सेवाले निरन्तरता पाउन सकेको छैन । यसले गर्दा पूर्वको औद्योगिक क्षेत्रले आशा गरेअनुसार लाभ लिन नसकिएको उद्योगीहरुको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले गत जेठ १८ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा कार्गो रेलको उद्घाटन गरेका थिए ।
भारतको बथनाहाबाट नेपालको बुधनगर हुँदै कटहरीसम्म आउने उक्त कार्गो रेल एकीकृत भन्सार चौकी (आइसीपी) भएर आउने व्यवस्था मिलाइएको छ ।
उक्त कार्गो रेल नियमित सञ्चालन भए सामान ल्याउन सहज हुने भए पनि हाल सञ्चालन नहुँदा पुरानै नाका जोगबनीबाट सामान ल्याउनु परेको उद्योगीहरु बताउँछन् ।
जोगबनीसम्म सामान ल्याएर फेरि ढुवानी गर्नुपर्दा लागत बढ्ने गरेको छ । तर आइसीपी हुँदै सामान ल्याउँदा र पठाउँदा भने केही सस्तो पर्ने जनाइएको छ ।
रेल विभागका विराटनगर साइट इन्चार्ज इन्जिनियर रोशन देवका अनुसार कार्गो रेल आउनका लागि सबै पूर्वाधार तयार छ । पछिल्लो समय उद्योगी–व्यवसायीहरुले कार्गो मार्फत् सामान नमगाएकाले रेल सञ्चालन नियमित हुन नसकेको उनले बताए ।
कार्गो रेलमा सामान आएपछि आवश्यक जाँच गर्ने तथा भन्सार जाँचपासको काम गर्ने गरी व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया