काठमाडौं । महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरले ८५ जनालाई निःशुल्क फिजियोथेरापी सेवा दिएको छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन मनाइने ‘वर्ल्ड फिजिथेरापिष्ट डे’ का अवसरमा सेन्टरले ८५ जनालाई निःशुल्क फिजियोथेरापी सेवा दिएको हो ।
सेन्टरले काठमाडौं महानगरपालिका वडा नम्बर ३ सँगको समन्वयमा विशेषगरी महिला स्वास्थ्य स्वयम्सेविका र वृद्ध आश्रमका वृद्धवृद्धाहरुलाई निःशुल्क सेवा दिएको हो ।

साथै, फिजियोथेरापीको बारेमा समाजमा रहेको भ्रम र सत्यबारे जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरिएको थियो । जसमा फिजियोथेरापी भनेको के हो ? अहिले बजारमा कसरी फिजियोथेरापी गरिएको छ ? कस्तो अवस्थामा फिजियोथेरापी गराउने ? नेशनल न्यूरो सेन्टरले कस्तो खाले फिजियोथेरापी सेवा दिइरहेको छ ? भन्ने बारे सहभागिलाई अवगत गराइएको थियो ।
यसैगरी, थेरापीबाट लाभ लिएका केही बिरामीले कार्यक्रममा अनुभवसमेत सुनाएका थिए । बिरामी रामेश्वर सिग्देलले थेरापीबाट आफूले जीवनदान पाएको बताए । ‘मैले २ वर्ष त राम्रोसँग सुत्नै सकिन, सिधा हिँड्नै सक्दिन थिएँ,’ उनले भने, ‘जब नेशनल न्यूरो सेन्टरमा आएर फिजियो थेरापी गराएँ मैले जीवनदान नै पाएँ ।’
उनलाई स्पाइनल सिस्टको समस्या रहेको थियो । भारतको अस्पतालमा अप्रेशन गराएपछि उनले सेन्टरमा २ महिनादेखि नियमित फिजियो थेरापी गरेका थिए ।

क्याम्पमा आएका बिरामीलाई डा. मतिना मानन्धर र मेजिना श्रेष्ठले सेवा दिएका थिए । डा. मतिनाले बिरामीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् । ‘कतिपय बिरामीहरुलाई फिजियोथेरापीको बारमो ज्ञान नै थिएन,’ उनले भनिन्, ‘हामीले सेवा दिएपछि धेरैजना खुशी हुनुभयो ।’
यसैगरी, वर्ल्ड फिजियोथेरापी डेकै अवसर पारेर सेन्टरले फिजियोथेरापी पुनर्स्थापन केन्द्रसमेत उद्घाटन गरेको छ । उक्त केन्द्रमा उपचार गर्ने बिरामीलाई निःशूल्क चिकित्सक परामर्श सेवा दिने सेन्टरकी प्रमुख कार्यकारी अधिकृत नूमा शर्माले जानकारी दिइन् । ‘हामीले आजबाट नै फिजियोथेरापी पुनर्स्थापना केन्द्रको उद्घाटन गरेका छौं,’ उनले भनिन्, ‘अब त्यहाँ उपचार गर्ने बिरामीलाई हामीले चिकित्सक परामर्श सेवा निःशुल्क दिनेछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया