हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ। गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महिनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ।
उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि सञ्चार अवरुद्ध भएको छ।
माघ महिनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ। आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ। हिमपातले चिसो बढ्दै गएको छ।
प्रहरीको वासस्थान सर्यो
नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या भएको छ । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ। उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घण्टा तल बेँसीतिर सारिएको उनले जनाए।
दाउराको माग
जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ। हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको छ। उत्ता हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो।
जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताए। लगातार हिमपात हुँदा घार बनाउन वनमा गएर दाउरा टिप्नलाई गाह्रो हुँदा महँगो मूल्यमा किन्नुपरेको उनले बताए। दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन्।
डोल्पालीहरू अलपत्र
केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ। चार÷पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। विगतका वर्षहरुमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन।
हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ। विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थिति समेत उत्पन्न हुनसक्ने खतरा देखिएको छ।
हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन्। महिनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका९१ धो तरापका नाम्ग्याल गुरुङले बताए। उनका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन्। ‘‘अधिकांशको राजधानीमा आफन्तको घर नभएकाले बौद्धका गलैंचा कारखानाहरूमा बस्नु परेको छ ।’’गुरुङले भने। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया