माईतीघरबाट बजाईदै पशुपति शर्माको गीत, स्वतन्त्र नागरिकको नामबाट यस्तो अनुरोध

काठमाडौं । गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले विभिन्न दबाबमा युट्युवबाट हटाएसँगै माईतीघर मण्डलाबाट ठूलो आवाजमा बजाईने भएको छ ।

गीतका रचनाकार एवं गायक शर्माले चर्को दबाबमा परेर यो भिडियो युट्युवबाट हटाएतापनि यो गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यसैबीच आज  (आइतवार) स्वतन्त्र नागरिकको नामबाट सामाजिक सञ्जालमा एउटा अपिल भइरहेको छ । साँझ ५ बजे माईतीघर मण्डला  जमघट भई शर्माको यो गीत घन्काउने उनीहरुको योजना छ । 

यता गायक शर्माले यो गीत कुनै राजनीतिक दलप्रति लक्षित थिएन भन्दै अब केही शब्दहरु परिमार्जन गरेर ल्याउने जनाएका छन् । 

गायक शर्माले गीतमा राष्ट्रपतिले डेढ अर्बको हेलिकप्टर चढेको कुरा, भिजुअलमा नेकपा कार्यकर्ताको झण्डा देखाइएको र कार्यकर्तालाई कुकुर जस्तै भुक्छन्  तथा वाइडबडीमा भ्रष्टाचार , ‘यमराजको शासन’, सरकारी कर्मचारीले दुई वर्षमा घर बनाएको, सरकारी शिक्षकले छोराछोरी र्बोडिङमा पढाएको र सरकारी डाक्टरले बिरामीलाई निजी क्लिनिकमा पठाउने गरेको जस्ता विकृती औँल्याईएको छ ।

 

यस्तो छ पशुपति शर्माको हटाईएको गीत​

हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो

स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो

बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ

त्यसकै छोरो पढ्न फेरि र्बोडिंगतिर जान्छ

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट ।। 

****
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ

बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ

हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो

दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो 

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

****

गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा

त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज

जनताको मुटुभित्र काँडा कति कति

डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

****

वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे

सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे 

ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्

कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

****
हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्

हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् रु

गर्ने काम केही हैन, ठूला ठूला भाषण

स्वर्गजस्तो देशमा हजुर यमराजको शासन

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

****

सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन

ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन

त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च

हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ रु

लट्न सके लुट कान्छा, लुट्न सके लुट

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट‘

****

ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा

झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा

यता गयो लुटेकै छन् लुट्छन् उता गयो

सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट‘

****

ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्

तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।

अब गर्न छोड्दे कान्छा आदर्शको खेती

केही न केही त बुझिस होला भनेपछि यति

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?