तीन दिनसम्म देशभर वर्षा, यस्तो रहन्छ आगामी तीन दिनको मौसम

काठमाडौं ।  पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ ।

अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो ।

काठमाडौं उपत्यकामा तीन÷चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले आजदेखि बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ । 

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै हिजो राति देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

आज शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

आगामी ४ गते शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?