काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र ०७८ क्रमशः गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ ।
बुधबार उपराष्ट्रपति रामसहायप्रसाद यादवले होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानसहित प्रधान र आचार्यलाई नगद जनही दुई लाख समेत हस्तान्तरण गरिएको थियो ।
नेपाल जनप्रशासन संघले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेश लिमिटेडको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ट योगदान पुुर्याएबापत उनको सम्झनामा सम्मान गरेको हो । सो पुरस्कार सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत सम्मानसहित दुई लाख प्रदान गरिँदै आइएको छ ।
सम्मान कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालको व्यवस्थापकीय एवं प्रशासनिक क्षेत्रमा जनप्रशासन संघले पुर्याएको योगदानबारे चर्चा गरेका थिए । साथै सार्वजनिक सेवाका क्षेत्रका कर्मचारीलाई तालिम र प्रशिक्षणको व्यवस्था गरि काममा थप जागरुक बनाउनुपर्नेमा जोड दिए । विश्व परिवेश अनुसार डिजिटल माध्यमबाट सेवा प्रवाहमा जोड दिन समेत आग्रह गरे । ‘बदलिँदो विश्व परिवेशलाई हेरेर डिजिटल माध्यमबाट छिटो र छरितो ढंगले सेवा दिन जोड दिनुपर्ने देखिन्छ ।’ उपराष्ट्रपति यादवले भने ।
साथै विभिन्न कालखण्डमा शिक्षा, व्यवस्थापन, प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेर आगामी दिनमा कर्मचारी वर्गमा थप हौसला प्रदान गरेकोमा प्रसंशा गरे ।

सो कार्यक्रममा बोल्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले आफ्नो धारणा राखेका थिए । उनले मल्लले कर्पोरेशनमा रहेर लामो समय नेतृत्व गरी पुर्याएको योगदान अतुलनीय रहेको बताए ।
त्यस्तै प्रशासन संघका नेपाल (पान) का अध्यक्ष कृष्णहरि बास्कोटाले जनप्रशासन क्षेत्रको काम कर्तव्य र अधिकारका बारेमा प्रकाश पारेका थिए । साथै हेमबहादुर मल्लले नेपालको व्यवस्थापकीय क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा समेत गरेका थिए ।
त्यसैगरी सम्मान ग्रहण गर्दै प्रधानले यति ठूलो सम्मान पाउनु आफ्नो लागी गौरवको कुरा रहेको बताउँदै पानलाई धन्यवाद व्यक्त गरे । साथै आगामी पुस्तालाई इतिहासले सम्झिनेगरी आफूमा नेतृत्व विकास गर्न समेत आग्रह गरे ।
त्यसैगरी सम्मान हुने अर्का व्यक्ति आचार्यले मल्लले ०४८ पछि उदारिकरणका लागि खेलेको भूमिकाबारे प्रसंशा गरे । साथै मल्लले कर्पोरेशनलाई व्यापारबाट उद्योगको मोडलतिर लैजान भूमिका खेलेको भन्दै प्रसंशा गरे । त्यसको साथै निजी क्षेत्रलाई सरकारले संरक्षण गर्न नसक्नु लज्जाको विषय रहेको बताए । आफूलाई योग्य सम्झिएर सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे ।

विंस. २०४७ सालमा स्थापना भएको संघले विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिसकेको छ । सम्मान पाउनेमा केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरिशंकर लाल दास र सूर्यनाथ उपाध्याय रहेका छन् ।
प्रधान यो पुरस्कार पाउने अठारौँ र आचार्य उन्नाइसौँ व्यक्ति हुन् । सम्मान छनोट भने पूर्व गभर्नर एवं पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट टे्रडिङ्ग कर्पोरेशन लिमिटेडका तत्कालिन अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ पूर्व सचिवद्वय पूर्णचन्द्र भट्टराई र याम कुमारी खड्का सदस्य रहेका थिए ।
को हुन् स्वर्गीय मल्ल ?
हेमबहादुर मल्लको जन्म विंस. १९९५ सालमा निसिभुजी बाग्लुङमा भएको थियो । उनले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख डाइरेक्टर, इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका थिए ।
उनी नेसनल फाइनान्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल लिमिटेडको अध्यक्ष समेत रहेर काम गरेका थिए । साथै उनी गोरखकाली रबर उद्योग प्रालि, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पती घ्यू उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड र हितकारी गुठीको सन्चालक रहेका थिए । त्यसका साथै उनी नेपाल चेम्बर अफ कमर्श र नेपाल व्यवस्थापन संघको कार्यकारी सदस्य रहेका थिए । उनी गोरखा दक्षिणबाहु चौथो र शुभराज्यभिषेक पदकबाट विभुषित समेत भएका थिए ।
प्रशासनीक तथा व्यवस्थापकीय क्षेत्रमा लामो समय काम गरेका मल्लको मृत्यु २०५७ सालमा हृदयघातका कारण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया