काठमाडौं । अधिकमासमा भब्य मेला लाग्ने चन्द्रागिरीको मच्छेनारायण मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिले जनाएको छ ।
चन्द्रागिरी नगरपालिकाको वडा ९ का अध्यक्ष अच्युत अधिकारीले, मलमास समेत भनिने अधिकमास अवधिभर भेला लाग्ने चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेनारायण मन्दिरमा मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन्।
मेला व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अधिकारीले भने ‘मेला व्यवस्थापनको हकमा सजावटलगायतका काम भएको छ । एक्सेस रोड मर्मत गरिएको छ । केही ठाउँको मर्मत गरिएको छ । केही काम बाँकी छ त्यसलाई पनि हामी पुरा गर्ने तयारीमा छौं । मेलामा लाइन बसेर दर्शन गर्नको हकमा चाँडो दर्शन गर्नसक्ने गरी व्यवस्था गरिएको छ । अशक्तहरुलाई पनि चाँडै दर्शन गर्न सक्ने व्यवस्था गरिएको छ । कुण्डमा पानीको व्यवस्था गरिएको छ । ’
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ। एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलामा भारतलगायत नेपालका विभिन्न ठाँउबाट दर्शनार्थी दर्शनका लागि पुग्ने गरेका छन् ।
भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान विष्णुले पहिलो अवतार लिएको स्थानको रुपमा अधिकमासको समयमा पनि यस मन्दिरको पुरा आराधना गर्न मिल्ने धार्मिक विश्वास छ ।
मत्स्यनारायण मेला
काठमाडौंबाट झन्डै ८ किमी दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको मन्दिरमा मलमास सुुरु भएको दिनदेखि अर्थात साउन २ गतेलदेखि एक महिना लामो मलमास मेला सुरु हुदैँछ । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा-पुरुषोत्तम माहात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।
विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मलमासबाहेक नववर्षलगायत जनपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो गर्ने गर्दछ ।
के हो मलमास ?
पुरुषोत्तम मास पनि भनिने अधिक मासलाई भगवान विष्णुले स्वयम आधिपत्य स्वीकार गरेको किंवदन्ती छ । सूर्यले ग्रहण नगरेको मास अर्थात महिनालाई भगवान् पुरुषोत्तम स्वयमले आधिपत्य स्वीकार गरेकाले यो मासमा भगवान् नारायणको पूजा अर्चना गरिन्छ। अन्य पूजाहरू सामान्यतया चले पनि विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु भने । मलमासमा पतिपत्नी विवाहको प्रथम वर्ष हो भने साथ नबस्ने अनि पारिवारिक सम्बन्ध पिरोल्ने मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया