झन्-झन् आक्रामक बन्दै बालेन, फिल्म हलमा ताला लगाउँदै

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि सोमबार भारतीय चलचित्र प्रदर्शन गर्ने हलहरुमा ताला लगाउने तयारी गरेको छ ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई महानगर प्रमुख बालेन शाहले दिएको ३ दिनको अल्टिमेटम पूरा भएपनि विवादित संवाद नहटाएपछि हिन्दी फिल्म प्रदर्शन गर्ने हलमा ताला लगाउने तयारी गरिएको हो ।

भारतीय फिल्म प्रदर्शन नगर्नका लागि आज आइतबार महानगरको प्रहरी टोलीले सबै हलमा पुगेर जानकारी गराइसकेको महानगरीय प्रहरी बलका प्रमुख एसपी राजु पाण्डेले जानकारी दिए । ‘हामीले आज महानगरभित्र रहेका प्रत्येक चलचित्र हलमा पुगेर हिन्दी फिल्म नदेखाउन सूचना दिइसकेका छौँ,’ उनले भने, ‘यदि अटेर गरेर फिल्म प्रदर्शन गरे भने हामी हस्तक्षेप गर्छौं र ताला लगाइदिन्छौँ ।’

गत शुक्रबार महानगर प्रमुख बालेनले आदिपुरुषमा समावेश जानकी भारतीय छोरी हुन् भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

त्यतिमात्र नभएर बालेनले आदिपुरुषको विवादित संवाद हटाउनका लागि चलचित्र निर्मातासँग पहल गर्न भन्दै सञ्चार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्राचारसमेत गरेका थिए । यद्यपि, मन्त्रालयले अहिलेसम्म बालेनको सो पत्रको कुनै जवाफ दिएको छैन । साथै, भारतीय निर्मातासँग कुनै पहल गरेको जानकारी पनि गराएको छैन ।

यसैगरी, नेपालको सेन्सर बोर्डले पनि उक्त विवादित अंश हटाउन खासै जाँगर चलाएन । बोर्डले सीतालाई भारतकी छोरी भनिएको संवादबाट ‘भारत’ शब्द म्युट गरेर ‘आदिपुरुष’ लाई प्रदर्शनको अनुमति दिएको थियो । सोही अनुसार नै अहिले काठमाडौंलगायत देशभरका हलमा आदिपुरुष चलिरहेको छ । राष्ट्रियताका सवालमा उठेका विषयमा राज्यको साथ नपाएपछि बालेन आफ्नै शैलीबाट एक्सनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?