२ घण्टादेखि रोस्ट्रममा ओली, पट्यार मान्दै सभामुखदेखि सांसदसम्म

लोकपथ
280
Shares

काठमाडौं । प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकमाथि छलफल जारी रहेको छ ।

आइतबारबाट जारी छलफल आज पनि जारी रहेको छ । आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा बाह्य व्यक्तिको प्रवेश भएको भन्दै आवाज उठेपछि त्यसबारेमा जवाफ समेत दिएका छन् ।

आजको बैठकमा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । दुई घण्टा भन्दा बढी समयदेखि ओलीले बजेटका विषयमा धाराप्रवाह बोलिरहेका छन् । त्यसो त यसअघि पनि ओली सम्बोधनका लागि रोस्टममा उभिएपछि लामो भाषण गर्ने गरेका थिए । वाकपटुतामा माहिर ओलीले बैठकको शुरुमा करको दर हेरफेरबारे कटाक्ष गरेका थिए ।

उनले सरकारले निश्चित घरानालाई पोस्न सरकार लागिपरेको आरोप समेत लगाएका थिए । अर्थमन्त्रीले आफू इमान्दार भएर काम गरेको भनाइप्रति सकारात्मक देखिएका ओलीले अर्थमन्त्रीको समेत केही कटाक्ष गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे केही टिप्पणी गरि बजेटमाथिको छलफलमा प्रवेश गरेका ओलीले अहिलेसम्म बजेटका बुँदाबुँदा केलाएर भाषण गरिरहेका छन् ।

उनले हरेक सम्बोधनमा आफ्नो सरकारले गरेका कामका बारेमा प्रशंसा गर्न छुटाउँदैनन् । त्यसो त आजको सम्बोधनमा पनि आफूले जनजीविकाको सवालमा काम गरेको बताउँदै गठबन्धनको सरकारले विगत २–३ वर्षदेखि जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको भन्दै कटाक्ष गरे ।

ओलीको लामो भाषणबाट उनका दलका सांसदले नै पट्टयार मान्न थालेका छन् । पूर्वप्रधानमन्त्रीका लागि कुनै समयको सीमा नहुने भएका कारण पनि ओलीले नरोकिकनै आफ्नो कुरा राखिरहेका छन् । यता सभामुख पनि बेला बेला पट्टयार मानेजस्तो मुद्रामा देखिएका छन् । भने संसदमा कतिपय सांसदहरु मोबाइल चलाएर बसिरहेको त कतिपय हाइ काढेर बसिरहेको देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?