नीति तथा कार्यक्रमबारे प्रदीप पौडेल : स्वागतसहित आलोचनात्मक सुझाव

लोकपथ
56
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सार्वजनिक नीति तथा कार्यक्रमबारे आलोचनात्मक सुझाव दिएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद पौडेलले सत्ता पक्ष हुने बित्तिकै सबै राम्रो र प्रतिपक्ष हुँदा सबै नराम्रो भन्ने अभ्यास गलत रहेको बताए । साथै प्रस्तुत नीति तथा कार्यक्रम भविष्यपरक रहेको भन्दै त्यसको स्वागत गरे ।

‘हाम्रो सत्ता पक्ष भएपछि सबै राम्रो र प्रतिपक्ष भएपछि सबै नराम्रो भन्ने अभ्यास् रहेको छ त्यो राम्रो होइन ।’ उनले भने ।

सांसद पौडेलले नीति तथा कार्यक्रमका बारेमा बुँदागत रुपमा टिप्पणी र सुझाव दिएका छन् ।

नीति तथा कार्यक्रमले गिजोलिएर रहेको शान्तिप्रक्रियाको विषयलाई २ वर्षभित्र टुंग्याउने विषय स्वागतयोग्य रहेको बताए । त्यस्तै उच्च पदस्थ व्यक्तिको सम्पती छानबिन गर्ने र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई कारबाही गर्ने विषय स्वागतयोग्य रहेको बताए ।

नीति तथा कार्यक्रम राम्रो आउने हुँदा हुँदै पनि कार्यान्वयनको पाटो फितलो हुने गरेको भन्दै अडिट प्रणाली लागू गर्नुपर्ने माग गरे ।

त्यस्तै नीति तथा कार्यक्रममा समेटिएका कतिपय विषय अपूर्ण रहेको र त्यसलाई कार्यान्वयन गर्ने कुराहरु उल्लेख नगरिएको भन्दै सुझाव दिए ।

नीति तथा कार्यक्रममा ५ लाख रोजगारी सिर्जना गरिने भनिए पनि त्यसलाई कसरी सुनिश्चित नगरिएको बताए । त्यसैगरी किसानलाई अनुदान दिने भनिए पनि नक्कली किसानले अनुदान लिने प्रद्धतीलाई अन्त्य गर्नुपर्ने सुझाव दिए । अहिले आर्थिक परिसूचकहरु सकारात्मक रहेको भनिए पनि त्यसो हुन नसकेको बताए ।

त्यस्तै नीति तथा कार्यक्रममा विदेश जानेहरुलाई सरकारी ऋणको व्यवस्था गर्ने भन्ने भनाइप्रति आपत्ति जनाएका छन् । वार्षिक रुपमा ८ लाख युवाहरु विदेशिएको अवस्थामा युवालाई विदेश जान प्रोत्साहन गर्नु भन्दा नेपालमै केही गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे ।

त्यस्तै हुलाकलाई व्यवस्थित गरी यातायात, लाइसेन्स र राष्ट्रिय परिचयपत्र घरघरमा पुर्याउने व्यवस्था गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?