अनावश्यक ठाउँमा राष्ट्रको ढुकुटी दुरुपयोग हुँदैन : अर्थमन्त्री डा. महत

लोकपथ
0
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।

अयोग्य लडाकूलाई नगद बाँडिदैछ भन्ने सन्दर्भमा अर्थमन्त्रालयका धारणा स्पष्ट पार्दै मन्त्री डा. महतले भने, ‘सरकारको अर्थमन्त्रीका हैसियतले राज्यकोषको दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार, अनियमिता, घोटला, राज्य कोष जथाभावी बाड्ने र व्यक्ति पोसित काम मबाट हुँदैन र हुन दिइँदैन । म यस्तो काम गर्दैगर्दिन । हामी कोही पनि गर्दैनौं भन्ने विश्वास म सबैलाई दिलाउन चाहन्छौं ।’

त्यस्तै व्यक्ति र राजनीतिक दलभन्दा माथि उठेर देश र जनताका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘व्यक्ति र राजनीतिक दलभन्दा माथि उठेर देश र जनताका लागि म काम गर्छु’ उनले भने, ‘मेरो र सरकारको लक्ष्य त्यो हुँदै होइन । ढुकुटी समाप्त पार्न, रकम कुम्ल्याउन थाल्यो कि भन्ने आशंका लागेको छ भने म स्पष्ट रुपमा भन्छु, त्यस्ता आशंका छ भने तपाईंहरुले दिमागबाट निकाल्दिनुस् ।’

त्यस्तै अयोग्य लडाकुलाई रकम वितरण गर्ने भन्ने विषय अदालतमा पुगेको बताउँदै उनले उक्त विषय यसअघिकै सरकारले अगाडि बढाएको स्पष्ट पारे ।

उनले भने, ‘अयोग्य लडाकूहरुको विषय धेरै अगाडिदेखि अदालतमा पुगेको हो, त्यसबाट पनि निर्णय भएर आएको छ । यसभन्दा अगाडिको बजेटमा पनि त्यो व्यवस्था गरिएको छ । म त्यसबेला अर्थमन्त्री थिइन ।’ मन्त्री डा. महतले भने, ‘यो विषयलाई अगाडि बढाउने भन्ने सन्दर्भ सञ्चारमाध्यममा आएको छ । म अर्थमन्त्री भएपछि यो निर्णय भएको होइन । यो विषय अगाडि बढेको बारे मलाई जानकारी थिएन । कार्यविधि पास गरेर अगाडि बढाउने विषयमा मलाई जानकारी छैन । म मन्त्री भएर आएपछि मन्त्रालयले यस विषयमा कुनै निर्णय गरेको छैन । कार्य विधि बनाउने र बजेटको व्यवस्था गर्ने जिम्मेवारी गृहमन्त्रालयको हो । कार्यविधि बनाउनुपर्छ भन्ने विषय आएको थियो अरे र बन्यो अरे भन्ने मैले पनि सुनेको हुँ ।’

त्यस्तै पूर्व अयोग्य लडाकुहरुलाई पैसा बाँड्ने विषयमा आफ्नो कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।

उनले भने, ‘म स्पष्ट भन्न चाहन्छु, लडाकुलाई पैसा दिने विषयमा अर्थमन्त्रालय र म संलग्न छैन । नेपाली कांग्रेस पार्टीको प्रवक्ता पनि हुँ म । पार्टी र मेरो व्यक्तिगत राय– सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन पनि गर्नुपर्छ । जति पनि द्वन्द्वसँग जोडिएका विषय छन्, यी सबै सत्य निरुपण आयोगबाट भयो भने सबैभन्दा उत्तम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?