ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता भइन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्तसमेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन ।
ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान् चेतमणि सुवेदीसँग बस्दै आएकी निरु बेपत्ता भएकी हुन् । उनका साथमा पाँच वर्षीय छोरा चेन्ज सुवेदीसमेत रहेका छन् । दुवै जना हाल परिवारको सम्पर्कमा छैनन् । इमाडोल टेम्पोपार्क नजिकै रहेको आफ्नै मिनीमार्टमा दिनभर काम गरेकी उनी साँझदेखि हराएकी हुन्।
पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत्ति निम्तिएको छ । चैत २२ गते नजिकै साथीको घरमा बास बसेकी उनी २३ गतेदेखि सम्पर्क नभएको परिवारबाट जानकारी प्राप्त भएको छ । निरु हराएपछि निरुका बुबा ६७ वर्षीय नारायण ढकाल इलामको माइजोगमाईबाट काठमाडौँ आएका छन् । ढकाल यतिबेला आफ्नी साइँली छोरी निरु र नातिको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौँतारिरहेका छन् । प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेको उनले बताए ।
इलामको देउमाई नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाई–६ माइत भएकी निरुको सीमित साथी र केही आफन्तबाहेक धेरैसँग सम्पर्क नभएको बुझिएको छ । दुई वर्षदेखि मोबाइल बोक्न नदिएको भन्ने बुबाले भर्खरै थाहा पाउनुभएको रहेछ । मोबाइल नभएपछि सामाजिक सञ्जाल चलाउने कुरै भएन । ज्वाइँसँग राम्रैसँग घर गरी खाएको भन्ने जानकारी भएपछि माइती पक्षले खासै चासो राखेको थिएन । घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी नगरिएको बुबा ढकालको भनाइ छ । “बेपत्ता भएको खबरले मन पोलिरहेको छ, काठमाडौँ, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन”, उनले भने ।
मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेको भए पनि कुनै खबर प्राप्त नभएको बुबाले बताए ।
छोरी र नाति बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शङ्का लागेको ढकालको भनाइ छ । उनले ज्वाइँले पटक–पटक बोली फेर्ने गरेको दुःखेसो व्यक्त गरे । छोरीसँगको सम्बन्धमा खटपट भएको आशङ्का आफूले गरेको बुबाको भनाइ छ । बेपत्ता निरुका भाइ सञ्जीव ढकालसमेत काठमाडौँमै छन् । उनले दिदी चैत २३ गते साथीकोमा जान्छु भनी निस्किएको पछि मात्र आफूले जानकारी पाएको बताए ।
बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा पनि निवेदन दिइसकेको छ । सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिको सम्भावित स्थानमा खोजी भइरहेको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया