काठमाडौं । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ ।
स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुरार्ष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण भएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।
सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा गरे ।
उक्त उद्घाटन समारोहमा गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुखसुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै पार्कले नेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए । उनले भने, ‘हाम्रो साझेदार हिम इलेक्ट्रोनिक्ससँगको यो नयाँ टेलिभिजन कारखानाले नेपालसँग हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउनेछ र स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो । सामसङले यहाँका जनताहरुलाई रोजगारीका अवसरहरु उपलब्ध गराउनेछ । साथै दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास दिलाउँदछौं ।’
समारोहलाई सम्बोधन गर्दै शेखर गोल्छाले सामसङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने बताए । ‘विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएको छ । जुन हाम्रो लागि महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरुसंगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मुल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं’, उनले भने ।
यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुँगा भएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया