काठमाडौं । शैक्षिक सत्र २०८० देखि काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको माध्यमिक तह ९कक्षा ९ देखि १२० सम्म ‘छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम’ थालनी गरेको छ ।
पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रम थालनी गरिएको हो ।
यस प्रकारको तालिम सञ्चालन गर्न चालु आर्थिक बर्ष २०७९∕०८० को स्वीकृत बार्षिक कार्यक्रममा बजेटको व्यवस्था गरिएको छ ।
अहिले ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषयहरु पठन पाठन भईरहेका छन् । यस्ता कार्यक्रमबाट प्राप्त सिकाइ र सीपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने यसको मूख्य लक्ष्य हो ।
वर्तमान समयअनुकूलका दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौं महानगरपालिकाले ११ औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । तालिम शुरु भएसँगै नीति कार्यान्वयनमा आएको छ ।
९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिनेछ ।
यसरी प्रदान गरिने शिक्षाबाट विद्यार्थीहरुले दैनिक जीवनमा आइपर्ने व्यावहारिक समस्या समाधान गर्न सक्नेछन् । विद्यालय तह पूरा गर्दा विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाण पत्र पनि प्राप्त गर्नेछन् । प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो ।
यसले विद्यार्थीहरुमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुनेछ । कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुनेछन् । हरेक तालिमको १ समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ । कार्यक्रमको शुरुवात अर्थात् पहिलो वर्ष (शैक्षिक सत्र २०८०) मा कक्षा ९ का लागि नमूना कार्यक्रम चलाइनेछ । यसका लागि विद्यालयहरुलाई अनुदान रकम उपलब्ध गराइनेछ ।
सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्थारनिकायवाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति तालिमका प्रशिक्षक हुनेछन् । प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदबाट लेबल २ उत्तीर्ण गरेको, सम्बन्धित विषयमा कम्तीमा डिप्लोमा तथा प्रमाणपत्र तह अथवा राष्ट्रिय सीप परीक्षण समितिबाट न्यूनतम तह – २ अथवा सो सरह डिग्री प्राप्त गरेर १ वर्षको प्रशिक्षण अनुभव हासिल व्यक्तिलाई पनि प्रशिक्षकका रुपमा ग्रहण गरिनेछ ।
विदेशबाट सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेका वा सीप हासिल गरेका व्यक्तिहरुको हकमा नेपाल सरकारवाट मान्यता प्राप्त संस्थाहरूवाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र भएका व्यक्ति, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्बाट वा आधिकारिक दर्तावाल संघ संस्थाहरुबाट सम्बन्धित विषय तथा भारको तालिम प्रशिक्षण गर्न योग्यता हासिल गरेका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरुले पनि तालिममा प्रशिक्षण गर्न सक्नेछन् ।
विद्यालयले कार्यक्रम सञ्चालन गर्दा सूचना प्रकाशन गरेर जनशक्ति माग गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन गर्दा योग्यता प्राप्त गरेका जनशक्ति प्राप्त हुन नसके विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विषयसँग सम्बन्धित दक्ष व्यक्ति वा सेवा प्रदायक संस्थाहरुसंग सत्रका आधारमा सेवा करार लिई बैकल्पिक प्रशिक्षकको व्यवस्था गर्न सक्नेछन् ।
तालिम सञ्चालनका लागि शिक्षा अधिकारीको अध्यक्षतामा ‘छोटो अवधिको सीपमूलक तालिम सञ्चालन तथा व्यवस्थापन समिति’ गठन गरिएको छ । २०७९ माघ ९ गते बसेको शिक्षा समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा, शिक्षा सल्लाहकार, सहरी योजना आयोगका सहायक विज्ञ र शिक्षा अधिकृत हुनुहुन्छ भने सदस्य सचिवमा सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्येबाट राजेन्द्र अधिकारी छन् ।
समितिले पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकको माग अनुसार थप विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया