सशस्त्रका अधिकृतहरूलाई अबदेखि आईजीपीको सरकारी निवासमा निषेध, भेट्न चाहनेलाई सचिवालयमै भेट्ने

लोकपथ
623
Shares

काठमाडौं । सशस्त्र प्रहरीका अधिकारीहरूले अबदेखि महानिरीक्षक (आईजीपी) सँगको भेटघाटका लागि आईजीपी निवासमा समय नपाउने भएका छन् । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आफूले संगठनसम्बन्धी सबै काम सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयबाटै गर्ने भन्दै कसैलाई पनि निवासमा नभेट्ने बताएका हुन् । 

गृहसचिव राजकुमार श्रेष्ठबाट आज सोमबार दर्ज्यानी चिन्ह लगाएपछि प्रधान कार्यालय हल्चोक पुगेका महानिरीक्षक पौडेलले सकल दर्जासँगको निर्देशन सम्बोधनका क्रममा सो कुरा बताएको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार सकल दर्जाको निर्देशन सम्बोधनपछि बसेको परामर्श समितिको बैठकमा पनि महानिरीक्षक पौडेलले सरकारी निवासलाई आफूले निवासकै रूपमा प्रयोग गर्न चाहेको भन्दै त्यस कार्यमा सहयोगका लागि सबैसँग अपिल गरेका थिए । 

परामर्श समितिको बैठकमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि महानिरीक्षकसम्मको उपस्थिति रहने गर्छ । 

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको यो ‘घोषणा’ लाई सकारात्मकरुपमा हेरिएको छ । यो कामले संगठनलाई पारदर्शी बनाउन र निवासमा पहुँच नपुग्नेहरूलाई पनि राहत पुग्ने विश्वास गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?