घाट निर्माणमा जुट्दै स्थानीय

लोकपथ
0
Shares

मङ्गलबारे । देउमाई नगरपालिका–४ मङ्गलबारेका स्थानीय हाल देउमाई– २ मा रहेको घाट व्यवस्थित गर्न जुटेका छन् । देउमाई खोलाको सन्तविरेघाट व्यवस्थित गर्न स्थानीय जुटेका हुन् । सार्वजनिक बिदाको दिन वा शनिबार पारेर अभियान नै सञ्चालन गरेर काम शुरु गरिएको स्थानीय छविलाल श्रेष्ठले बताए।

‘ठूलाठूला आश्वासन होइन साना–साना काम गरौँ’ भन्ने नारासहित आफूहरु लागेको स्थानीय गोपाल मण्डलले बताए । आफूहरुले गर्ने काम श्रमदान मात्र नभएर उदाहारणीय समेत भएको स्थानीयको भनाइ छ । पहिलो पटक नै स्वतस्फूर्त रुपमा ४० जनाभन्दा बढी स्थानीयको सहभागिता रहेको छ ।

स्थानीयले अभियानअन्तर्गत श्रमदानसँगै केही आर्थिक सहयोग जुटाउने कार्यसमेत गरिएको बताए । श्रमदानमा सहभागी भएर यो कार्य सम्पन्न गर्न सहयोग गरिदिन अभियान सफल बनाउन लाग्नुपर्ने स्थानीय मात्रिका घिमिरेको भनाइ छ ।

यसअघि शवलाई जलाउँदै गर्दा पानी परेको समयमा अधुरै छाड्ने गरिएको थियो । कति पटक शवका केही अङ्ग खोला किनारमा नै फेला पर्ने गरेका थिए । अब तिनै समस्या समाधानका लागि व्यवस्थित घाट निर्माण गरिने जनाइएको छ । शव जलाउने स्थानमा छानो लगाउने, शव जलाउन प्रयोग हुने दाउरा अड्याउन पिलर उठाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?