काठमाडौं । बिहीबार राति १२ बजेबाट १० वैशाखमा हुने उपनिर्वाचनको प्रचारप्रसारमा रोक लगाइएको छ ।
निर्वाचन आयोगले आयोगको निर्देशन अनुसार तीन वटै उपनिर्वाचन क्षेत्रका उम्मेदवारहरुले कुनै पनि प्रचारप्रसार गर्न पाउने छैनन् ।
बिहीबार दिउँसो सबै राजनीतिक दलले आ–आफ्नो क्षेत्रमा आमसभा गरेका छन् ।
सो क्रममा चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकाहरुले छलफल गरेका छन् ।
बिहीबार राति रवि लामिछाने (चितवन), स्वर्णिम वाग्ले (तनहुँ) र रमेश खरेल (बारा) ले जूम मिटिङबाट प्रचारप्रसारको समिक्षा र गठबन्धनको प्रचारशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।
मिटिङमा बोल्दै रास्वपाका सभापति समेत रहेका उम्मेदवार लामिछानेले प्रधानमन्त्री स्वंयले उम्मेदवारलाई मन्त्री बनाउने भन्दै राज्य संयन्त्रको चरम दुरुपयोग गरेको बताए ।
‘हामी दुई जनाको क्षेत्रमा त मन्त्री बाँडाबाँड शुरु भएको छ । प्रधानमन्त्रीले म मन्त्री बनाउछु भन्नु भयो रे एक उम्मेदवारलाई मैले अघि आएर सुनेको । यहाँ पनि एक जना उम्मेदवारलाई शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री ज्यूले म मन्त्री बनाइदिन्छु भन्नु भयो रे । हामी देश बनाऔँ भन्छौँ उहाँहरु मन्त्री बनाऔँ भन्नुहुन्छ रे ।’ लामिछानेले भने ।
गठबन्धनले गरेको प्रचारशैली आफूहरुका लागि राम्रो संकेतको रुपमा रहे पनि लोकतन्त्रका लागि शुभ संकेत नहुने टिप्पणी गरे ।
लामिछानेको भनाइमा समर्थन जनाउँदै तनहुँ क्षेत्र नं १ का उम्मेदवार वाग्लेले लामिछानेको भनाइमा समर्थन जनाउँदै प्रधानमन्त्रीले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको टिप्पणी गरे ।
हरेक निर्वाचन क्षेत्रमा पुगेर केन्द्रीय नेताहरुले वडावडामा पुगेर चलखेल गरेको समेत आरोप लगाए । त्यस्तै स्थानीयदेखि केन्द्रीय सरकार आफ्नो कब्जामा रहेको भन्दै भोट मागिरहेको बताए ।
‘निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन हो । प्रधानमन्त्री जस्तो मान्छे, जसले संविधानको रक्षा गर्नुपर्ने हो । देशका ऐन, नियम कानुनको रक्षा गर्नुपर्ने हो । आफैँ हेलिकोप्टर लिएर तीन तीन जना पूर्वप्रधानमन्त्रीहरुको लावालस्कर लिएर आश्वासन बाड्ने स्थानीय तह पनि हाम्रो कब्जामा छ, प्रदेश सरकार पनि हाम्रो कब्जामा छ र केन्द्र सरकार पनि हाम्रो कब्जामा छ यहाँलाई जिताएर पठायो भने मन्त्रालयमा फाइल बोक्दै हिँड्छ । त्यसैले जिताउ भनेर यति तल्लो स्तरको प्रचारमा उहाँहरु लाग्नुभएको छ कि गज्जब छ । यो एउटा भर्खर उदाएको पार्टी र हामी तीन भाई उम्मेदवार विरुद्ध राज्य नै लागेको छ ।’ डा. वाग्लेले भने ।
यता बारा क्षेत्र नं २ को उपनिर्वाचनको उम्मेदवार बनेका रमेश खरेलले गठबन्धनले सबै संयन्त्र प्रयोग गरे चुनाव जित्ने हतकण्ठा गरेको आरोप लगाए । सानो दलका लागि राज्य संयन्त्र नै लागेको र भारतीय नम्बर प्लेटको गाडीहरु समेत ल्याइएको खरेलले बताए ।
‘यहाँ त मनि मसल पूरै युज भएको छ । सम्पूर्ण शक्ति युज गरेको छ । यति हुँदा हुँदै पनि आम दाजुभाई दिदि बहिनीहरु डर त्रास हुँदाहुँदै पनि चुपचाप घण्टीछाप छ है भनेर मैले पाको छु । तर यिनीहरुले जे पनि गर्छन् । आज पनि आएका थिए शीर्ष, शीर्ष के भनौँ, सम्माननीय प्रधानमन्त्री ज्यू आउनु भएको थियो । सबै हेर्दा इन्डियन नम्बर प्लेटको गाडी सयौँ नम्बरमा छ । आफ्नो मान्छेहरुलाई राखेको छ ।’ खरेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया